बन्ने भो आदर्श मावि, कान्तिपुर

Printer-friendly versionSend to friend

कान्तिपुर संवाददाता

स्रोत: कान्तिपुर दैनिक, ५ पुस २०६८ (21 Dec 2011)
लिन्क:  http://www.ekantipur.com/kantipur/news/news-detail.php?news_id=259210 

ललितपुर, पुस ५ - 

 'कोही हुनुहुन्छ, यो पेन्टिङ मन पराउने ? किन्नुहुन्छ भने अगाडि आउनुस्,' पूर्व मिस नेपाल तथा अभिनेत्री माल्भिका सुब्बाले माइकमा यसरी उद्घोष गर्नेबित्तिकै बीबीसीका सञ्चारकर्मी रवीन्द्र मिश्रले हात उठाउँदै भने, 'म किन्छु ।' त्यसपछि उनले कपिलमणि दीक्षितले कोरेको 'द टु पि|mडाज' शीर्षकको चित्र किने । योसँगै चित्रको लिलाम बढाबढ सुरु भयो । 

ललितपुरको झम्सीखेलस्थित ज्ञानमण्डलामा मंगलबार चित्रप्रेमीबीच रोचक र भिन्न कार्यक्रम भइरहेको थियो । विकसित मुलुकका कलाकारका चित्रहरू लिलाम बढाबढमा बिक्री हुने समाचार पढेकाहरू साँच्चिकै लिलाम बढाबढमा सामेल थिए, त्यही पनि नेपाली कलाकारकै चित्र । अमेरिकास्थित युनिभर्सिटी अफ टेक्सासबाट ललितकलामा स्नातक गरेर फर्केका कपिलले एक वर्षअघि कोरेका चित्रहरूलाई दुर्गम नेपाली बस्तीको एउटा स्कुल निर्माणको लागि लिलाम बढाबढमा राखेका थिए । 

'आर्ट फर फिलानथ्रोपी' -परोपकारका लागि कला) नाम दिइएको कार्यक्रममा कपिलले विश्वविख्यात चित्रकारहरूको थिममा आधारित रहेर कोरेका १७ चित्र लिलाममा राखेका थिए । तीमध्ये १० वटा बिक्री भए । हरेकको न्यूनतम मूल्य थियो २५ हजार । रवीन्द्रले 'सेभेरल सर्कस' शीर्षकको अर्को चित्र पनि किने । उनले खडा गरेको माहौलकै बीच नेपालयका किरणकृष्ण श्रेष्ठले पनि २५ हजार रुपैयाँ तिरेर 'द बेड रुम' शीर्षकको चित्र किने । यसपछि चित्र किन्नेको रमाइलो भीड सुरु भयो, अधिकतम २६ हजार रुपैयाँसम्म तिर्नेहरू भीडमा थिए । 

'कलाकारहरू पनि सामाजिक काममा सहभागी हुनुपर्छ भन्ने मेरो मान्यता हो,' पछि कपिलले भने, 'त्यही भएर पहिलोपटक यस्तो कार्यक्रम गरेको हुँ ।' उनले हेल्प नेपालमार्फत अर्घाखाँचीस्थित आदर्श माविको भवन निर्माणका लागि आफ्ना चित्रहरू बिक्रीमा राखेका हुन् । सबै चित्रहरू गत वर्ष पाटनस्थित यलमाया केन्द्रमा आयोजित 'टि्रब्युट टु दि ग्रेट आर्टिस्ट' प्रदर्शनीपछि बाँकी रहेका सिर्जना हुन् । 

 मिक्स मिडियाका चित्रहरूमा उनले पाब्लो पिकासो, भ्यानगग, पि|mडादेखि ज्याक्सन पलकका थिममा आफ्नो थिम मिसाएका छन् । प्रायः चित्रमा उनले न्युड आकृति कोरेका छन् । पि|mडा काहलोको प्रभाव चित्र 'द टु पि|mडाज' मा अघिल्लो भागमा पहिरन लगाइबसेकी महिलाको मुटुबाट पछाडि बसेकी अर्की नग्न स्त्रीको मुटुमा रगत सञ्चार गरेको दृश्य छ । भ्यानगगको 'द बेड रुम' प्रभाव चित्रमा कपिलले टावेल समाउँदै गरेकी युवतीको आकृतिलाई नग्न स्वरूपमा प्रस्तुत गरेका छन् । 'थिङ्किङ अफ हिम' चित्रले यौन अपिल व्यक्त गर्छ । रोय लिचेस्टिङको प्रभाव चित्रमा कपिलले रातो पृष्ठभूमि राखी पात्रलाई न्युड बनाएका छन् । आँखा चिम्लेर आँसु झार्दै गरेकी युवती नग्न पुरुषको दृश्य दिमागमा नचाइरहेकी छन् ।

लियोनार्दो दा भिन्चीको 'मोनालिसा' को थिममा पनि कपिलले काम गरेका छन् । चित्रलाई उनले अर्धनग्न स्वरूपमा ढालेका छन् । यो चित्र भने लिलाममा गएन । चित्रकलामा न्युड शैली भित्र्याएका कपिलले अरूले कोरेका चित्रमा आफ्नै दृष्टिकोण थप्न पाउँदा कलामा थप निखार आउने अनुभव सुनाए । 'कलामाथि कला थप्दा बेग्लै आनन्द आउँदो रहेछ,' उनले भने, 'यो पनि कलाकारको खुबी नै मान्नुपर्छ ।' 

लिलामबाट उठेको शत प्रतिशत रकम हेल्प नेपाल नेटर्वकलाई प्रदान गरिने कपिलले बताए । 'सामाजिक कामका लागि चित्र किनेर सहयोग गर्ने सबैलाई धन्यवाद,' उनले भने, 'यस्ता कार्यक्रमलाई हरेक वर्ष निरन्तरता दिने योजना बनाउँदै छु ।'

Filed Under: